भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
इन्डोनेसिया । असोज–१५, इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ । यस भूकमपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ । उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरहरुको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । जसका कारण प्रतिदिन मृत्यु हुन सङ्ख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।
यद्यपी सरकारी तथ्याङ्कअनुसार भने यो सङ्ख्या ८३२ पुगेको बताइएको छ । भूकम्प गएको चार दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन । घरका भग्नावशेषबाट जिवीतै व्यक्ति उद्धारको लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकहरु बढ्न सक्ने जनाइएको हो ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गर्नुभएको छ । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका र सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाई छ । अस्पतालका भवनमा पनि क्षति भएकाले खुल्ला ठाउँमा त्रिपाल टाँगेर घाइतेको उपचार भइरहेको छ । इण्डोनेशियाको तटीय सहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कयौँ मानिस हराइरहेको अनुमान गरिएको छ । भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन् ।