केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साढे तीन महिनाकी छोरी च्यापेर राष्ट्रसंघको महासभामा पुगेकी प्रधानमन्त्रीबाट केहि सिक्ने कि !!!

सहयात्रा टिभी

एजेन्सी । असोज–१७,न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्ने साडे तिन महिनाकी छोरी काखमा च्यापेर संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन पुगेकी छन् । न्युजिल्याण्डको प्रधानमन्त्री भएको एक वर्ष पुरा हुँदा कहिले राजनीतिक कारण त कहिले व्यक्तिगत कारणबाट ज्यासिन्डा चर्चामा आइरहेकी छन् ।

१७ घण्टाको हवाई यात्रा तय गरेर साढे तिन महिनाकी छोरी सहित महासभामा पुगेकी ज्यासिन्डा संयुक्त राष्ट्रसंघको महासभामा शिशु सन्तानसहित पुग्ने पहिलो प्रधानमन्त्री हुन् । काखमा छोरी बोकेर महासभामा सहभागी भएकी ज्यासिन्डालाई न्युजिल्याण्डका प्रतिनिधिसँगै रहेका उनका प्रेमी गेफोर्डले ज्यासिन्डालाई धेरै सहयोग गरेका छन् । उनी व्यस्त भएको समयमा गेफोर्डले नै छोरीको स्याहारसुसार गर्ने गर्छन् ।

उनी अहिले सत्तामा रहेका विश्वका नेता मध्ये कम उमेरकी नेता पनि हुन् । ३८ वर्षकी ज्यासिन्डाले सत्तामा रहेको समयमा नै बच्चा जन्माएकी हुन् । उनी सत्तामा रहेको समयमा नै आफु गर्भवती भएको कुरा सार्वजनिक गर्दा धेरैले बधाइ दिएका थिए भने केहिले सत्तामा बसेर बच्चा र देश दुवै चलाउन नसकिने भनेर टिकाटिप्पणी समेत गरेका थिए ।

तर उनले भने आफू अरु जस्तै कामकाजी आमा रहेकाले कुनै फरक नपर्ने बताएकी थिइन् ।ज्यासिन्डाले अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा आमा बनेपछि अभिभावक, आमा र विशेषगरी एकल आमाप्रतिको सम्मानमा वृद्धि भएको बताएकी छन् । उनीहरु माथिको सम्मान अघि पनि रहेको तर आफू आमा बनिसकेपछि झन बढेको उनले बताएकी हुन् । यस्तै देशमा परिवार मैत्री नीतिलाई थप प्रभावकारी बनाउन आफू लागि परेकी उनले जानकारी दिइन् ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डाको यो कार्यले दुनियाँका सारा महिलाहरुलाई प्रेरणा प्रदान गर्नुको साथै हौसला पनि पुग्नेछ । विशेष गरी उनको यो कार्यले महिला र कामकाजी आमाहरुका लागि बलियो सन्देश तथा उर्जा दिएको छ ।

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्