केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समाजसेवी सविताको संकल्प : अटिजम बालबालिकाकै निम्ति समर्पित छु

सहयात्रा टिभी

सहयात्राटीभी : आफ्नै भविष्य बनाउन हतारिरहेका युवाहरुको यो भिडमा अरुको भविष्यबारे सोच्ने फुर्सद सायदै कसैलाई होला । यो सायदै भित्र अटाउने एक युवा हुन् सविता उप्रेती, जो आफ्नो भविष्य विर्सिएर अरुको भविष्य बनाउन लागी परेकी छन् । अटिजम भएका बालबालिकालाई यो समाजले घृणाको दुष्किोणबाट हेरिरहँदा उनले भने तीनै बालबालिकाप्रति आफुलाई समर्पित गरेकी छन् । अटिजम भएका बालबालिकाहरुलाई घरमा बाँधेर, कोठामा थुनेर राखेको देख्न नसकेपछि उनीहरुका लागी केहि गर्ने उद्देश्यले आजभन्दा ८ वर्षअघि उनले विशेष स्कुल तथा पुनःस्थार्पना केन्द्रको स्थापना गरिन् । दुई जना बच्चाबाट सुरु गरिएको उक्त केन्द्रमा हाल ४५ जना अटिजम भएका बच्चाहरु रहेका छन् ।

उनै समाजसेवी उप्रेती संग सहयात्राटीभी संवाददाताले गरेको अन्तवार्ताको सारांश यस्तो छ :

 सर्वप्रथम त हाम्रा पाठकहरुलाई यो बुझाइदिनुस् कि तपाईँको संस्था विशेष स्कुल तथा पुनःस्थार्पना केन्द्रले के काम गर्छ ?

विशेष गरेर मेरो संस्थाले अटिजम भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पुनःस्थार्पनाको लागी काम गर्छ । अटिजम भएका बालबालिकालाई उनीहरुको स्तर अनुसारको शिक्षा दिने, विभिन्न प्रकारका थेरापीहरुका माध्यमबाट उपचार गराउने, शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने लगायतको काम गर्दै आएको छ । हामीले दुई जना बालबालिकाबाट ८ वर्ष अघि सुरु गरेको यो संस्थामा हाल ४५ जना अटिजम भएका व्यक्तिहरु हुनुहुन्छ भने २६ जना स्वास्थ्यकर्मी, शिक्षक लगायतका कर्मचारीहरु हुनुहन्छ ।

 वास्तवमा अटिजम के हो ? यस विषयमा सामान्य मानिसहरुले पनि बुझ्नैपर्ने कुरा के रहेछ ?

अटिजम सामान्यदेखि सबै मानिसले नै बुझ्नुपर्ने कुरा हो । अटिजम भएका बच्चा जस्को परिवारमा पनि जन्मिन सक्छन् । एक तथ्याङ्क अनुसार ६८ जना बच्चा जन्मदा एउटा बच्चा अटिजम भएको जन्मने गर्छ । त्यसैले यस विषयमा सबै परिवारले बुझ्नु जरुरी हुन्छ । अटिजम भएका बच्चाहरु शरिरीक रुपमा सामान्य हुन्छन् तर उनीहरुको व्यवहार भने अन्य बालबालिका भन्दा असामान्य हुने गर्छ । यो जन्मजात नै हुने कुरा हो । उनीहरु दोहोरो कुरा गर्न सक्दैनन्, कसैको कुरा वा कुनै कुरामा पनि ध्यान दिन सक्दैनन्, एउटै कुरा दोहो¥याइ रहने, कोहि एकोहोरो हुने, कोहि चन्चल हुने, उफ्रि रहने यस्ता असामान्य प्रकृतिका व्यवहारहरु भएका बालबालिकाहरुलाई अटिजम भएका बालबालिकाको समुहमा राखेर हेरिन्छ ।

 यो त नितान्त सेवामुलक काम भयोे, त्यो पनि अत्यन्त गाह्रो मध्येको गाह्रो काम पनि भनिन्छ । यस्तो क्षेत्रमा काम गर्ने उर्जा कहाँबाट पाउनुभयो ?

साँच्चै नै तपाईले भने जस्तै यो क्षेत्र निकै चुनौतिपूर्ण क्षेत्र हो । अटिजम भएका बच्चाहरुलाई सम्हालेर अघि बढाउन निकै कठिन छ र जोखिम पनि उत्तिकै छ तर ति नै बच्चाहरु नै मेरो उर्जाका स्रोत हुन् । जब मैले समाज कल्याण परिषद् अन्तर्गत ‘राष्ट्रिय अपांग कोषको पुनःस्थार्पना केन्द्रमा केन्द्र व्यवस्थापन अधिकृतको रुपमा काम गर्ने अवसर पाए त्यस बेला अटिजम भएका बालबालिकाहरुलाई घरमा बाँधेर राखेको, कोठामा थुनेर राखेको देखेँ । त्यस्तो अवस्थामा शिक्षा र स्वास्थ्यको कुरा त अलग भयो उनीहरुले भोक लाग्दा खान नपाएको र दिसापिसाव खाएको अवस्थामासमेत भेटेँ जुन दृष्यले मेरो मन छोयो । त्यसपछि चुप रहन सकिन र दुई वटा बच्चाबाट यो काम सुरु गरेँ । ती बच्चाहरु र उनीहरुको अवस्था नै मेरो उर्जाको स्रोत हो ।

 आजका युवाहरु व्यवसायमुखी हुने अर्थात आफ्नै भविष्यका निमित्त समय खर्चने गर्छन् । तपाईले गरेको यो कामबाट त आम्दानी भन्दा पनि बढि त खर्च नै हुने देखियो । के जिवनभर समाजसेवामा नै जीवन व्यतीत गर्ने तपाईको उद्देश्य हो ?

भोली के हुन्छ भन्ने कुरा निश्चित गर्न त अहिले नै सकिदैन, तर अहिलेसम्मको सोच र योजनाअनुसार म यहि क्षेत्रमा नै लागीपर्ने छु । यहि संस्थालाई प्रवद्र्धन गर्दै लैजाने सोचमा छु । मैले रोजेको क्षेत्र भएकाले म यसैमा सन्तुष्ट छु । त्यसैले यी नै बालबालिकाहरको निम्ति आफ्नो जीवन समर्पित गरेकी छु ।

 तपाईसँग जति पनि अटिजम भएका बच्चाहरु छन्, उनीहरु तपाईकोमा आउने माध्यम के हो ? तपार्ईँ आफैँ खोज्नुहुन्छ वा तपाईँलाई खोज्दै आउँछन् ?

सुरुसुरुका एकदुई वर्षहरुमा बच्चा जम्मा गर्नु नै मुख्य काम भयो । त्यस बेला त्यस्ता बच्चाहरु कहाँ छन् भनेर खोज्ने र अभिभावकहरुलाई मनाएर, बुझाएर बच्चा ल्याउने गथ्यौँ । पछिल्लो समयमा चांहि बच्चा खोज्न जानु परेको छैन । अभिभावकहरुले थाहा पाएर वा अन्य कुनै माध्यमबाट थाहा पाएर आँफै बच्चा लिएर आउनुहुन्छ ।

 हरेक काममा आर्थिक पाटो मुख्य रहन्छ । अझ अटिजम भएका बच्चाहरुको लागी त खर्च बढि लाग्ने गर्छ । फेरि तपाई आफ्नै भवन बनाउने तरखरमा पनि हुनुहुन्छ । आर्थिक पाटोको व्यवस्थापन कसरी गरिरहुनु भएको छ ?

सुरुसुरुमा त निकै गाह्रो भएको थियो । त्यसपछि भने अभिभावकहरुबाट पनि सहयोग लिन्छौँ । १६ वर्ष भन्दा माथिका अटिजम भएका व्यक्तिहरुलाई सिपमुलक तालिम दिएर उत्पादन भएका वस्तुहरुको विक्रिबाट पनि केहि राहत हुन्छ । त्यसैगरि देशविदेशमा रहनुभएका सहयोगी मन भएका नेपाली दाजुभाई दिदिबहिनीहरुबाट प्राप्त सहयोगबाट नै संस्था चलिरहेको छ । कहिलेकांहि खर्चको अभावका कारण मैले आँफैले ऋण समेत लिएर पनि चलाएकी छु । हाल भवन बनाउने सोचमा छु । यसका लागी जस्ले जति सक्नुहुन्छ उहाँहरुसँग सहयोग आह्वान गर्ने सोचमा छु । सरकारी संस्था, गैह्रसरकारी संस्था, सहयोगी मनहरुबाट प्राप्त सहयोगबाट भवन निर्माण गर्ने सोचले नै यो योजना तयार गरिरहेकी हुँ । विश्वास छ सहयोग पाउने छु ।

 अब यो भन्दा अगाडिको योजना के छ ?

अब तत्काल एउटा भवनको आवश्यकता छ । त्यसकै लागी दौडधुप गरिरहेकी छु । विस्तारै अटिजम भएका बालबालिकाहरुका लागी ट्रेनिङ सेन्टर, सर्भिस सेन्टर खोल्ने योजना छ र यसैगरि आफ्नो संस्थाको शाखा सबै प्रदेशमा फैलाएर देशभरकै अटिजम भएका बालबालिकाहरका लागी केहि गर्ने सोच छ र सोहि अनुसार चलिरहेकी छु ।

 अन्त्यमा अन्र्तवार्ता पढ्ने हाम्रा पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

सबैले अटिजम के हो बुझिदिनुप¥यो । अटिजम भएका बच्चाहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन गरेर उनीहरु पनि समाजको एक अंग हुन् । उनीहरु पनि मानिस हुन् भन्ने धारणा बनाइदिनु प¥यो । किनभने अटिजम भएका बच्चा जस्को परिवारमा पनि जन्मन सक्छन् । उनीहरुलाई गलत व्यवहार र घृणा गरेर हैन माया र सहयोगबाट उनीहरुको अवस्थामा सुधार ल्याउन सकिन्छ भन्न चाहन्छु ।

प्रकाशित : 4 October, 2018

प्रतिक्रिया दिनुहोस्