केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दशैँ र महिनावारीको तादम्यता !!!

सहयात्रा टिभी

सहायात्राटीभी : दशैँ नजिकिँदै गर्दा महिनावारीको दिन गन्ने महिला तथा युवतीहरु धेरै भेटिन्छन् । दशैँ
नआउँदै महिनावारी भए भने खुसीले उफ्रने युवतीहरु पनि धेरै छन् । अनि दशैँको टिकाकै बेला महिनावारी हुने दिन परेछ भने औषधी सेवन गरेर महिनावारी रोक्ने युवती तथा महिलाहरु पनि कम छैनन् । अनि दशैकै बेला महिनावारी भएर निरास भएर एउटा कोठामा दिन गुजारा गर्नेहरु पनि धेरै हुन्छन् ।

धर्म र संस्कारको नाममा महिलाहरुले यस्ता साना साना कुराहरुमासमेत मानसिक र शारिरीक तनावमा ग्रसित हुने गरेका छन् । महिनावारी अर्थात रजस्वला सुरु हुनु भनेको त एउटी युवतीमा आमा बन्ने क्षमताको विकास हुँदै गरेको अवस्था हो । महिनावारी हुनु भनेको बाँझो बारी हराभरा हुने संकेत हो, मरुभुमिमा विरुवा उम्रदैँ गरेको अवस्था हो, अनि सृष्टिले अझै निरन्तरता पाउँदै छ भन्ने संकेत हो । तर यहि प्राकृतिक नियमलाई धर्मसँग जोडेर अनेक नाम र उपनाम दिइयो र महिलाहरुलाई मानसिक र शारिरीक रुपमा दासी बनाइयो ।

हो, धर्म र संस्कार मान्नु पर्छ । आफ्नो परम्पराको संरक्षण गर्नुपर्छ तर वास्तविकता के हो भनि बुझेर मात्र परम्पराको पछि लाग्नु बुद्धिमानि हुन्छ हैन भने त्यो मुर्खता मात्र हो । दसैँमा दुर्गामाताको पुजा गरिन्छ, जो एक देवी अर्थात महिला नै हुन् । आजसम्म कैँयौँ दसैँहरु गए तर कुनै पनि दिन दुर्गामाताले यसपालिको दसैँमा म महिनावारी भएकी छु मेरो पुजा नगर्नु भनेको थाहा छैन् । महिनावारी त ती देवी पनि पक्कै हुन्छीन् ।

सबैले टिका र जमरा लगाएर हाँसि खुसी भएको समयमा महिनावारी भएकै कारण अध्याँरो मुख लगाइ निरास भएर एउटी छोरी घरको एउटा कोठामा बस्नु कत्तिको सहि हो । परम्परालाई पछ्याउँदा अन्धभक्त भएर होइन सहि या गलत के हो छुट्याएर पछ्याउनु पर्छ ।

शिक्षित परिवारकी एक शिक्षित छोरीचेलीले नै यसपटकको दसैँ महिनावारिले गर्दा रोकिने भयो भनेको सुन्दा आश्चर्य लाग्छ र एक पटक सोच्न बाध्य बनाउँछ म कुन युगमा छु भनेर । विश्व यति अघि बढि सक्दा पनि हाम्रो सोच र मानसिकता भने साँघुरो नै छ अझै । जब सम्म महिलाहरुप्रतिको यस्ता साँगुरा सोच र मानसिकता फराकिलो हुन सक्दैन् तब सम्म महिलाहरु अघि बढ्न सक्दैनन् । अनि एक पाङ्ग्राले मात्र रथ चल्दैन भने झैँ पुरुषको मात्र उपलब्धिले पनि केहि हुनेवाला देखिदैन ।

यो साँगुरो सोच र मानसिकतालाई फराकिलो बनाउने काम महिलाहरुबाटै सुरु गरिनु जरुरी छ । धर्मसंस्कार सबै पढौ, बुझौं र महिनावारीको विषयमा कहाँ कहाँ के के भनिएको छ र किन भनिएको छ, के सहि छ र के गलत छ आफँैले विश्लेषण गरेर निर्णय लिनु पर्छ, महिनावारी बार्ने कि नबार्ने भन्ने कुरा न कि परम्परा र अरुले भनेको भरमा होईन ।

प्रकाशित : 8 October, 2018

प्रतिक्रिया दिनुहोस्