आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिँदै

काठमाण्डौं । असोज–२६, आज नवरात्रको तेस्रो दिन घर घरमा माता दुर्गाको तेस्रो शक्ति चन्द्रघण्टा देवीको पूजा गरिन्छ । चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसै कारण दुर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो ।
चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तहरुले पूजन गर्छन् ।
गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ ।
हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।