युरो एसियन इनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन सर्विया प्रस्थान

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–८, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन सर्विया सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन् ।

सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा मन्त्री पुनसँगै उर्जामन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापासमेत भ्रमण दलमा सहभागी छन्। सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सर्विया भ्रमणका क्रममा उनले आफ्ना समकक्षी उर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिक र प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।

सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपालको उर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावना बारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ।

प्रकाशित : 25 October, 2018

प्रतिक्रिया दिनुहोस्