दशैँ समिक्षा वर्ष ०७५ः अनि तिहारको स्वागत
सहयात्रा टिभी
सहायात्राटीभी : हिन्दु धर्मावलम्बिहरुको महान पर्व बडादशैँ भर्खरै सकिएको छ भने हिन्दुहरुको अर्को ठूलो महान चाड तिहारको चहलपहल गाउँशहरतिर पसिसकेको देख्न सकिन्छ । शरद ऋतुको यो रमाइलो मौसममा दशैँ र तिहार जस्ता चाडपर्व र गाउँघर फर्कने परदेशिहरुको लहरले अझ उल्लास र उमङ्ग निम्त्याउने गर्छ । टाढा रहेका आफन्तजनसँगको भेटघाट, नयाँ कपडा, मिठा परिकार, पिङ, चङ्गा लगायतबाट मनमा हर्ष र उमङ्ग नछाउने कमै भेटिन्छन् ।
तर यहि चाडपर्व, यहि दशैँ कसैका लागी दशैँ अनि कसैका लागी दशा बनेको पनि देखिन्छ । दशैँकै बेला बढ्ने महङ्गीे सामान्य परिवारका लागी दशा बनेर उभिदिएको हुन्छ दशैँ । “दशैँ आयो ढोल बजाई दशैँ गयो ऋण लगाई” भन्ने उखान जस्तै गरिब परिवारमा छोराछोरीको इच्छा पुरा गर्न भए पनि थोरै खर्च गर्दा गर्दै पनि ऋण लाग्ने गर्छ ।
सबैका घरमा खासी ढाल्दा निन्याउरो मुख लगाउने छोराछोरीलाई खुसी पार्न भए पनि दुईचार केजी मासु त किन्नै प¥यो, सबैका छोराछोरी नयाँ कपडा लगाएर रमाउँदै पिङ खेलीरहँदा रुन्चे मुख लगाएर हेरिरहने आफ्ना सन्तानको खुसीको लागी भएपनि एक जोर कपडा त किनि दिनै पर्योे । टाढाबाट टिका थाप्न लाएका आफन्तका हात खालि पठाउन पनि मनले मान्दैन ।
हुने खानेहरु र हुँदा खानेहरुको विचको खाडललाई यो चाडपर्वले अझ बढि फराकिलो बनाउने गरेको देखिन्छ । दशैँ तिहार जस्ता चाडपर्वले गरिब परिवारमा पारिवारीक समस्या त निम्त्याउँछ नै यसमा उ गरिब हुनु मात्र दोष नभएर उसको गरिबिको फाइदा उठाउनेहरु पनि उत्तिकै दोषी देखिन्छन् ।
यहि चाडपर्वको मौका छोपी व्यापारीहरुले सामाग्रीको मुल्य बढाइदिन्छन्, गाडीको भाँडामा अनियमिता गरिदिन्छन्, कालोबजारी गर्नेहरु पनि यहि चाडको मौका छोपेर चलमलाउछन् अनि गरिबको बाध्यतामाथि राजाइँ गर्छन् । चाडपर्वको अवसरमा छोइनसक्नुको मुल्य लगाइएका कपडा र खाद्यान्न सामाग्रीहरुले नै गरिब नेपालीहरु तातो भुङ्ग्रोमा नराम्रोसँग पिल्सिएका छन् ।
शहरबाट गाउँ फर्कनेहरुले दोब्बर भाँडा तिर्न बाध्य भएका उदाहरणहरु हाम्रै आँखा अघि झलझलि छन् । नतिरौँ घर जान गाडि नै नपाइने समस्या, तिरौँ दोब्बर बढि । गाडि नपाएर ट्याक्टरको डालिमा साना साना बच्चा लिएर घर फर्कने परिवार पनि प्रशस्तै भेटिन्छन् यो दशैँ र तिहारको समयमा ।
यस वर्षको दशैँ गरिब परिवारको लागी मात्र बोझ नभएर सम्पूर्ण नेपालीहरुकै निम्ति केहि खल्लो पनि भएको देखियो । यस वर्षको तिजमा देशका विभिन्न ठाउँहरुमा महिलापुरुषहरुले कालो लुगा लगाएर विरोधपूर्ण तिज मनाएका थिए भने दशैँमा समेत युवाहरुले कालो टिका लगाएर दशैँ मनाइएको पाइयो । नेपलभर रातो टिका र जमराले दशै मनाइ रहदा काठमाडौंका केही युवाले कालो टिका लगाएर दशै मनाएका हुन् । गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले अझै न्याय नपाएको र मुलुकमा बलात्कारका घटनमा वृद्धि हुदा पनि सरकारले महिला तथा वालिकालाई सुरक्षा दिन नसकेको भन्दै कालो टिका र जमरा लगाएर दशै मनाएका हुन्।
उनीहरुले बलात्कारमा संलग्नलाई फाँसीको माग गरेका छन् । कालो पहिरनमा सजिएका उनीहरुले घटनाबाट पिडित परिवारसँग टिका लगाएका थिए ।
यस्ता चाडपर्वले कसैको घरमा हर्ष ल्याउँछ भने कसैको घरमा निरासा । चाडपर्व खर्च गरेर टारे पनि ऋणको बोझले भत्भत् मन पोल्नेहरुको समस्या गम्भिर समस्या बन्दै गएको छ । यसमा बढ्दै गएको देखावटीपना, यसैलाई अवसर बनाएर लापरवाही गर्ने व्यापारी तथा यातायात व्यवसायीहरु अनि सरकारको कमजोर अनुगमन जिम्मेवार देखिन्छन् । फलस्वरुप हरेक वर्ष आउने दशै सामान्य आयश्रोत भएका परिवारका लागि दशै होईन दशा बनेर आईरहनेछ बर्षैपिच्छे ।


