बेमौसमी महिनामा हुने विवाहमा रोक, अबदेखि साइतमा मात्र विवाह हुने

काठमाण्डौं । कात्तिक–११, बेमौसमी महिनामा हुने विवाहमा रोक लगाइएको छ । पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन्।
देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो। राजधानीमा दुई दिन चलेको सम्मेलनको अन्तिम दिन शनिबार १५ बुँदे घोषणापत्र जारी गरिएको छ ।
राष्ट्रिय धर्मसभा नेपालले आयोजना गरेको सम्मेलनमा काठमाण्डौंका पण्डित देवीप्रसाद पाठकले कर्मकाण्डको एउटै किताब भए पनि काममा एकरूपता नहुँदा असल पण्डित पनि आलोचित हुनु परेको बताए।
सम्मेलनमा पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको थियो।
सम्मेलनमा विभिन्न स्थानबाट प्रतिनिधित्व गरि आएका विभिन्न पण्डितहरुले आ–आफ्नो धारणा राखेका थिए ।