प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, अस्पतालबाटै थाले अनौपचारिक रुपमा काम

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१४, प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि १२ गते बिहानदेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि भर्ना भएका प्रम ओलीले अस्पतालको बेडबाटै काम सुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहानै रक्षामन्त्री, गृहमन्त्री र उर्जामन्त्रीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँचमा संलग्न प्रा डा अरुण सायमीले पनि ओलीले अस्पतालबाटै काम थालेको बताए।

प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ।

रुखा, खोकीसँगै सुरू भएको ज्वरोले उनको छातीमा संक्रमण भएको थियो। स्वास्थ्यमा सुधार भए पनि तत्काल प्रधानमन्त्रीलाई डिस्चार्ज नगर्ने तयारी अस्पतालको छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीलाई भोलि साँझ वा पर्सी बिहान मात्र डिस्चार्ज गरिने बताइन्।

प्रकाशित : 31 October, 2018

प्रतिक्रिया दिनुहोस्