भारतका १६ जना प्रहरीलाई आजीवन जेल सजायको फैसला
एजेन्सी । कात्तिक–१५, भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । देशको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन् ।
सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लीम धर्मावलम्बी मारिएको अदालतको भनाई छ । हिन्दू र मुस्लीम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए । पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन । तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसलालाई उल्ट्याएका हुन् ।
घटनामा ती प्रहरीले विभिन्न कानूनको उलङ्घन गर्दै अपहरण, हत्या जस्ता आपराधीक क्रियाकलाप गरेको प्रमाणहरू भेटिएको अदालतले जनाएको छ ।
अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ ।