विदेशी पर्यटकले बनाए स्रोतकेन्द्र भवन

मुसिकोट । कात्तिक–१५, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन्। सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन्।
विभिन्न देशका सय बढी विदेशीले स्वयंसेवामार्फत निर्माण गरेको तीनकोठे स्रोत भवनको एउटा कोठामा हालपुस्तकालय सञ्चालन गरिएको छ। भवन निर्माण गर्न १० लाख बराबरको रकम खर्च भएको स्रोत केन्द्रका निर्देशक हुकुमप्रसाद देवकोटाले बताए।
उनका अनुसार उक्त रकम पनि विदेशी पर्यटकले नै खर्च गरेका हुन्। तर स्रोत केन्द्रअन्तर्गत खेलकूद रङ्गशाला, बालउद्यान, हरितगृह, कलाकेन्द्र, बहुउद्देश्यीय सभाहल, सूचनाप्रविधिलगायत संरचना बन्न भने बाँकी छ।
विदेशी आकारमा निर्माण गरिएको स्रोत भवन निर्माणको सम्पूर्ण काम विदेशी पर्यटकले नै गरेको र भवनसमेत पूर्ण भूकम्पप्रतिरोधी रहेको जनाइएको छ। गाउँमा स्रोत भवन निर्माण भएपछि दहबाङसम्म सडक, बिजुली र खानेपानीसमेत पुगेको छ।
विकासका लागि संयुक्त अभियान नेपालले गत वर्षको पुस महिनामा विदेशी पर्यटकलाई दहवाङ ल्याएको थियो। रुकुम पश्चिम, सल्यान र रोल्पाका लागि पायक पर्ने यस ठाउँबाट कृषिदेखि इन्टरनेट सेवा प्रवाह गर्ने उद्देश्यले एकीकृत स्रोत केन्द्र निर्माण गरिएको अभियानका अध्यक्ष रञ्जु भण्डारीले जानकारी दिइन।”
भवन निर्माणका क्रममा हाम्रो संस्था र स्थानीयवासीले विदेशीलाई केही दिनु परेन,” भण्डारीले भनिन। भवनको काम सकिएपछि यसको थप मर्मत र विकासका लागि उक्त स्रोत भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको उनले बताइन।
गाउँपालिकाले भने स्रोत भवन आफ्नो मातहतमा आइसकेकाले उक्त भवनमा तत्काल युवा तथा खेलकूद शाखा राख्ने निर्णय गरेको छ। त्यसका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत तेजकुमार ओलीले बताए। पर्यटकीय महत्व बोकेको यस ठाउँबाट धौलागिरि, सिस्नेलगायत उच्च हिमाली शृङ्खलाहरु देख्न सकिन्छ। रासस