फोहर सङ्कलन केन्द्र निर्माण तीब्र गतिमा

सहयात्रा टिभी

नेपालगञ्ज । कात्तिक–२०, नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनामा ७० प्रतिशत पूरा भएको छ ।

विसं २०७३ भदौमा एशियाली विकास बैङ्क र नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको एकीकृत शहरी विकास आयोजनाबीच सम्झौता भई काम शुरु गरिएको हो । तोकिएको समयमा निर्माण पूरा नभएपछि नौ महीना थप गरिएको छ ।

करीब १३ बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको फोहर सङ्कलन केन्द्र निर्माण भएपछि नेपालगञ्जको फोहरमैलालाई सहजै व्यवस्थापन गर्न सकिने नगर उपप्रमुख उमा थापामगरले बताइन ।

कूल लागत रु ३३ करोड ८८ लाख २७ हजारमा एकीकृत शहरी विकास आयोजनाले २० महीनामा निर्माण गर्ने गरी रेमकी एण्ड एन ए एन सी जेभि कुलेश्वरलाई सम्झौता गरी निर्माणको जिम्मा दिइएको छ ।

दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमता भएको ल्याण्डफिल्डमा फोहर ल्याएपछि पहिले कुहिने खालको फोहरबाट कम्पोष्ट मल तयार गरिनेछ र नकुहिने फोहर सेलमा राखेर माटोले च्यापेर राख्ने नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीले बताए ।

केन्द्रमा सङ्कलन हुने फोहरबाट तयार गरिएको कम्पोष्ट मल बिक्री गरेर फोहरलाई मोहरमा परिणत गर्ने नगरपालिकाको योजना छ । रासस

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्