केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामाजिक सुरक्षा भत्ता नपाउँदा तिहार खल्लो

सहयात्रा टिभी

कञ्चनपुर । कात्तिक–२१, सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिकको दशैँ र तिहारजस्ता मूख्य चाडवाड खल्लो भएको छ। नगरपालिका कार्यालयले समयमै भत्ता रकम निकासा नगर्दा जेष्ठ नागरिकको दशैँजस्तै तिहार पनि खल्लो हुने भएको हो।

रमाइलो गरी तिहार मनाउने सोच बनाएका शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिक भत्ताको रकम नपाउने निश्चित भएपछि खिन्न भएका छन्। नगरपालिकाले समयमा सामाजिक सुरक्षा भत्ताको रकम वितरणका लागि बैङ्कलाई स्पष्ट निर्देशन दिन नसक्दा यहाँका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित बालबालिकाले रकम पाउन सकेका छैनन्।

शुक्लाफाटा नगरपालिका–४ का जानकी देवी डगौराले सामाजिक सुरक्षाभत्ता नपाउँदा दशैँ जस्तै तिहारमा समेत नयाँ लुगा लगाउन नपाइने भएको बताए। “तिहारमा भत्ताको आशमा बसेका थियौ, भत्ता नपाएपछि मिठो मसिनासमेत खान नपाइने भइयो”, ज्येष्ठ नागरिक डगौराले भने।

नगरपालिकाका–७ का एकल महिला लालमती देवी जागरीले आर्थिक अवस्था कमजोर हुँदा घर परिवारले ऋण निकालेर दशैँ मनाएको उल्लेख गर्दै तिहारमा समेत भत्ताको रकम नपाइदा निकै निरास भएको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बैङ्कबाट भत्ता प्राप्त गरिने भएकाले समयमै बैङ्कको खातामा सो रकम जम्मा गरेको बताउँदै समयमै खातामा रकम जम्मा गरिए पनि सम्बन्धीत व्यक्तिलाई उपलब्ध नगराउनु बैङ्कले जम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे।

भत्ताको रकम वितरणको जिम्मा पाएको कुमारी बैङ्क झलारी शाखाका प्रवन्धक सुशील जोशीले सामाजिक सुरक्षा भत्ता प्राविधिक कारणले बैङ्कले उपलब्ध गराउन नसकेको बताए। उनले जनशक्ति अभावका कारण समयमै भत्ता उपलब्ध गराउन नसकिएको जानकारी दिए।

यसरी सामाजिक सुरक्षा भत्तावापतको रकम बुझ्नेमा ५६१ दलित, एक हजार ५९१ ज्येष्ठ नागरिक र एक हजार छ सय १० एकल महिला छन् । यसैगरी, अपाङ्गता भएका व्यक्ति दुई सय ९३, पाँच वर्ष पोषणवापतको भत्ताको रकम पाउने पाँच वर्ष मुनिका दलित वालवालिका सात सय ७४ छन्।

सामाजिक सुरक्षावापत नगरपालिकाले रु सात करोड ८७ लाख ९३ हजार छ सय रकम वितरण गर्दै आएको छ। रासस

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्