लक्ष्मी पूजा गर्ने क्रममा विद्युत सर्ट भई आगलागी

भादगाउँ । कात्तिक–२२, मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा ११ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको सामान क्षति भएको हो ।
लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए ।
“सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उनले भने ।
आगलागीबाट करीब १० तोला सुन, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए ।
करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएको थियो ।