यमपन्चकको अन्तिम दिन आज भाइ टिका देशभर उल्लासका साथ मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२३, हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार अर्थात यमपन्चकको अन्तिम दिन आज भाइ टिका मुलुकभर भाइ पुजा गरी मनाइदैछ । भाइटिका दिन दिदि बहिनीले दाजुभाइहरुको निधारमा दिर्गायु र प्रगतीको कामना गर्दै सप्तरंगी टिका लगाइदिने गरिन्छ । साथै दिदिबहिनीले मिठामिठा परिकार, फलफुल खुवाउने र उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् ।

आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन् ।

दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ । तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अक्षता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शिरमा तेल लगाउँछन् ।

पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई बिशेष सम्मानका साथ पुजा गरी टिका लगाई दिर्गायुको कामना गरेको सम्झनामा भाइटिका लगाउने परम्परा चल्दै आएको हो ।

आफ्ना दिदिबहिनी नहुने दाजुभाइलॆ आज राजधानीको यमलेश्वर महादेबको मन्दिरमा दर्शन गरी टिका लगाउने चलन छ । सो मन्दिर प्रत्येक बर्ष भाइटिकाको दिन मात्र खुल्ने गर्दछ ।

प्रकाशित : 9 November, 2018

प्रतिक्रिया दिनुहोस्