स्पेनिस ला लिगा : रियल मड्रिडद्वारा सेल्टा भिगो पराजित

एजेन्सी । कात्तिक–२५, रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई पराजित गरेको छ । सोमबार विहान उसैको घरेलु मैदानमा भएको खेलमा सेल्टा भिगोलाई रियल मड्रिडले ४–२ गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो ।
खेलको २३औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको रियलले दोस्रो हाफमा एक उपाहार गोलसहित ३ गोल गर्दा सेल्टा भिगोले २ गोल गर्न सफल भयो ।
खेलको ५६औं मिनेटमा सेल्टाका काब्रलले आत्मघाती गोल गरेपछि रियलले २–० गोलको अग्रता बनाएको थियो । खेलको ६१औं मिनेटमा माल्लोले गोल गरेपछि सेल्टा भिगोले २–१ गोलको स्थितिमा पुगेको थियो । खेल ८३औं मिनेटमा पेनाल्टीबाट रामोसले गोल गरेपछि रियल ३–१ गोलअन्तरले अघि रहेको थियो ।
खेलको अतिरिक्त समयमा केबालोसले गोल गरेपछि रियलले ४–१ गोलको फराकिलो अग्रता बनाएको थियो । अतिरिक्त समयमै सेल्टा भिगोका मेन्डेजले गोल गर्दै ४–२ गोलको स्थितिमा पुर्याएको थियो ।
जितसँगै रियलले १२ खेलबाट २० अंक बनाएको छ ।