आज छठको मुख्य दिन, सूर्यको आरधना गरी मनाइँदै

काठमाण्डौं । कात्तिक–२७, आराध्यदेव सूर्यको आराधना गरी महापर्व छठ आज राजधानीलगायत देशभरका ठूला शहरहरुमा धुमधामका साथ मनाइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइँने छठ पवका दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ ।
छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।