केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नारायणगढ-मुग्लिन सडक खण्डको चौध ओटा पुलको विस्तार प्रक्रिया शुरु

सहयात्रा टिभी

चितवन । मंसिर–१, पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुलको विस्तार र नयाँ बनाउने प्रक्रिया शुरु भएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो ।

सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ । विसं २०३८ मा ती पुल चिनियाँ प्राविधिकले निर्माण गरेकाले अहिले गरिएका नक्साङ्कनका बारेमा छलफल गर्न प्राविधिक विज्ञसमेत बोलाइएको उनले बताए।

थापाका अनुसार चीनको थोङजी विश्वविद्यालयका प्राध्यापक डा सेनलाई पुल नक्साङ्कनको अन्तिम रुप दिनका लागि छलफल गर्न बोलाइएको छ । उनी आएलगत्तै नक्साङ्कनको अन्तिम रुप दिएर बोलपत्र आह्वान गरिनेछ ।

थापाले भने, “माघको तेस्रो साताभित्र बोलपत्र आह्वान हुने गरी काम अगाडि बढाएका छौँ ।” हाल ती पुल छ मिटर फराकिला छन् । उनका अनुसार ११ मिटर फराकिलो बनाइनेछ । दुई वटा नयाँ पुल बनाइनेछ भने १२ वटा पुलको दायाँबायाँ थप गरी विस्तार गरिने योजना छ ।

पुल बनेका छेउमा अग्ला पहाड भएकाले अर्को ठाउँबाट पुल बनाउन कठिन हुने उनले बताए । सोही सडकका चार ठाउँमा नयाँ पुल बन्दै गरेका छन् । सडक फराकिलो भइसक्दा पनि पुल साँघुरो भएपछि यातायात आवागमनमा समस्या हुँदै आएको छ ।

सो सडक विस्तार गरी नौदेखि ११ मिटर फराकिलो बनाइएको छ । ती पुल नयाँ बनाउन र मर्मतका लागि रु दुई अर्ब लाग्ने अनुमान गर्दै विश्व बैंकले अर्थ मन्त्रालयसँग बुधबार अन्य योजनासहित सम्झौता गरिसकेको थापाले जानकारी दिए ।

नयाँ पुलभन्दा पुल भएकै ठाउँमा विस्तार गर्नुपर्ने देखिएकाले रु एक अर्ब हाराहारीमै काम सम्पन्न हुनसक्ने अनुमान गरिएको छ । १८ महीनामा पुल सम्पन्न हुने गरी काम गर्ने तयारी गरिएको उनले बताए ।रासस

प्रकाशित : 17 November, 2018

प्रतिक्रिया दिनुहोस्