नेप्से १० अङ्कले घट्दा ३३ करोड बढीको कारोबार

काठमाण्डौं । मंसिर–२, आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० अङ्कले घटे पनि ३३ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार भएका अधिकांश समूहमा गिरावट आएपछि १० दशमलव १४ अङ्कले नेप्से घटे पनि ३३ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।
उत्पादनमूलक समूहको कारोबार नभएको दिन आज नेप्सेमा सबैभन्दा बढी जीवन बिमा ४९ अङ्कले घटेको छ भने निर्जीवन बिमा २९ दशमलव ८, जलविद्युत् १२ दशमलव ५८ तथा बैङ्किङ १० दशलमव १६ अङ्कले घटेको छ ।
१ हजार २ सय ४ अङ्कबाट कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से १० अङ्कले घटेपछि पुनः ९ अङ्क बढेर १ हजार २ सय ३ अङ्क कायम भएको थियो । त्यसपछि लगातार घटेको नेप्से कारोबार बन्द हुँदा १० अङ्कले घटेको हो ।
नेप्सेमा आज १ सय ४५ कम्पनीका ३ हजार ४ सय ८८ कारोबारबाट १० लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भई ३३ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।