पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सहयात्रा टिभी

सुर्खेत । मंसिर–३, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् ।

रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिए ।

उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले बताए ।

“पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भने, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उनको भनाइ थियो । रासस

प्रकाशित : 19 November, 2018

प्रतिक्रिया दिनुहोस्