केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेविसंघ केन्द्रीय कार्यसमितिको म्याद दुई महिना थपियो

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–३, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान स्वीकृत गरेसँगै संघको केन्द्रीय कार्यसमितिको समयावधि दुई महिना थप भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो साँझ बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संघको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेविसंघको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल हिजोसम्म मात्र थियो । २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महिनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।

नेविसंघको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था थियो । काङ्ग्रेस बैठकले तीन महिना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महिना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताए ।

विधान स्वीकृतसँगै स्वतःविघटनको सँघारमा पुगेको नेविसंघको कार्यसमितिलाई महाधिवेशन गर्न दुई महिना समयावधि प्राप्त भएको छ । विसं २०२७ मा गठन भएको नेविसंघ कांग्रेसको प्रभावशाली भ्रातृ संस्था हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले स्वतन्त्रता सेनानी सोनेलाल पासवान (धनुषा), मणिसुन्दर वजियम (खोटाङ), भीमराज नौलाखा (मोरङ), कांग्रेसका योद्धा तेजप्रसाद उप्रेती (धादिङ), कर्णबहादुर राना (गुल्मी) र धनबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ । (रासस)

प्रकाशित : 19 November, 2018

प्रतिक्रिया दिनुहोस्