स्मृति सभामा छोरा सम्झिएर भक्कानिए अध्यक्ष प्रचण्ड
काठमाण्डौं । मंसिर–३, आज विहान ललितपुरको खुमलटारस्थित निवासमा आयोजीत नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा अध्यक्ष दाहाल भक्कानिएका छन् । एक वर्ष अघि आजकै दिन निधन भएका प्रकाश दाहालको स्मृति कार्यक्रममा बोल्ने क्रममा प्रचण्डको गला अबरुद्ध भएको हो ।
अध्यक्ष प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे ।
उनले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् ।
प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो ।