१२ वर्षीया बालिका आमा बन्दै, प्रसुतिका लागी प्रधानमन्त्रीको पहलमा काठमाण्डौं ल्याइयो

मकवानपुर । मंसिर–५, मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी एक १२ वर्षीया बालिका आमा बन्दैछिन् । १२ वर्षकै उमेरमा आमा बन्न लागेकी बालिका गंगामाया चेपाङको स्वास्थ्यप्रति प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई मंगलबार काठमाण्डौं पठाइएको हो ।काठमाण्डौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाण्डौं पठाउन भनेपछि काठमाण्डौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताएका छन् ।
एक वर्ष अघि कक्षा चारमा अध्ययन गर्दै गरेकी गंगामायाले भागेर विवाह गरेकी थिइन् । गर्भवती भएपछि आमासँगै बस्दै आएकी गंगामाया निकै कम उमेरमा आमा बन्न लागेकीले चिकित्सकहरुको निगरानीमा नै प्रसुति गराउनु पर्ने भएको डाक्टरहरुको भनाइछ ।