केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गृहमन्त्री थापाद्वारा एक महीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुभारम्भ

सहयात्रा टिभी

भत्तपुर । मंसिर–६, आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरे ।

पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री प्रदान गरिएको थियो ।

मन्त्री थापाले भने, “जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका छन्, त्यो जिम्मेवारी पूरा गर्न सफल पार्न सबैको साथ र सहयोग चाहिन्छ ।”शान्ति र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उनले जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि शुरु भएको बताए। अरनिको राजमार्गमा टिपरले धेरैको ज्यान लिएको चर्चा गर्दै गृहमन्त्री थापाले भने, “हामी सुरक्षित नेपाल पनि बनाउने अभियानमा लागेको छौ, सुरक्षित भए मात्रै देशलाई समृद्ध बनाउन सक्छौँ, दुर्घटना र महिला हिंसाको पछाडिका कारण मदिरा नै भएकाले जनताको सुरक्षाका निम्ति पनि मदिरा पूर्णरूपमा निषेध गर्नु जरुरी छ ।”

महिला हिंसा र बलात्कार रोक्न, सरकार, प्रहरी र प्रशासनले मात्रै सम्भव छैन, यसमा जनताको सहभागिता जरुरी हुन्छ भन्दै उनले सिङ्गापुर समृद्ध बनेको उदाहरण दिँदै जनता र सरकार मिलेर आफ्नो मुलुकलाई पनि समृद्ध बनाउनुपर्ने धारणा राखे ।

जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका सम्पूर्ण निकाय, सङ्घसंस्था एकढिक्का भएर हरेक दिन बिहान ८ बजेदेखि एक महिनासम्म उक्त अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नेपाली सेनाको सूर्यविनायकस्थित वीरदलगणका गणपति शिवप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन हुनेछ । रासस

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्