केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विद्यालयमा १४ वर्ष निःशुल्क सेवा प्रदान, सामाजिक काममा नै जीवन व्यतित गर्ने प्रण

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–९, आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । असी वर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसकेका छन् ।

विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मेका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षासेवा आरम्भ गरेका थिए । विसं २०३१ सम्म निरन्तर सोही विद्यालयका लागि निःस्वार्थ सेवा गरेका प्याकुरेलले शिक्षासेवा छाडेसँगै आफ्नो घरजग्गासहित केही जग्गा विद्यालयकै नाममा पास गरिदिए ।

“त्यो क्षेत्रमा शिक्षा दिनु मेरो धर्म थियो, पैसा नै मेरा लागि सबथोक थिएन”, प्याकुरेलले भने ।
हाल उक्त विद्यालयमा माध्यामिक तहसम्म पढाइ हुन्छ भने सूर्यगढी बहुमुखी क्याम्पस समेत उनले नै दान गरेको जग्गामा सञ्चालन भएको छ । शिक्षासेवा छाडेदेखि नै आफूले राजनीतिमा प्रवेश गरेको उनले बताए । उनले भने, “मेरो बाँकी जिन्दगी समाजसेवा र राजनीतिमा नै बिताउनु थियो । तसर्थ आफूसँग भएको पुख्र्यौली सम्पत्ति बिक्री गरी आफ्नो कामलाई निरन्तरता दिँदै गएँ ।” उनले आफ्नो स्वामित्वमा रहेको ६० रोपनी जमीन समाजसेवामा नै खर्चे । शिक्षा सेवामा रहुञ्जेल भने प्याकुरेलको चौध जनाको परिवार खेतीपातीबाटै चलेको थियो । प्याकुरेलले रसुवाको सरमथलीमा रहेको तत्कालीन निर्कुभूमिे उमाविमा समेत आर्थिक सहयोग गरे । अङ्गेजी र हिन्दी भाषामा समेत अब्बल उनी प्रवेशिका तहबाहेक अध्ययन गर्न नपाएपछि भने निकै आत्मग्लानि महसुस गर्थे । फलस्वरुप उनले विसं २०२३ मा स्नातकसरह कानून विषय उत्तीर्ण गरे ।

प्याकुरेलले नुवाकोट, रसुवा, काठमाडौँलगायत क्षेत्रमा सात मन्दिर समेत बनाइसकेका छन् । विद्यालयको प्रधानाध्यापक हुँदा विसं २०२४ मा प्याकुरेलको अगुवाइमा नुवाकोटदेखि बागीश्वरी हुँदै ओख्रे, उर्लेसम्म चल्ने मोटरबाटाको समेत निर्माण भएको थियो । बागीश्वरी चोकमा उनले बनाएको बाआमाका नाममा भीमलीला स्मृति सङ्ग्रहालय पनि निर्माणका क्रममा छ । सङ्ग्रहालयभित्र ब्रह्माबाबाको मन्दिर, गणेश मन्दिर र राधाकृष्ण मन्दिर छन् भने पुराना ऐतिहासिक तथा धार्मिक पुस्तक राख्ने उनको योजना छ । उक्त सङ्ग्रहालयका लागि प्याकुरेलले रु एक करोड लगानी गरेका छन् । सङ्ग्रहालयमार्फत उक्त क्षेत्रका मानिसलाई धर्मका बारेमा जानकारी दिनाका साथै आन्तरिक पर्यटनको प्रवद्र्वन गराउने उद्देश्य समेत रहेको उनले बताए ।

उनले विसं २०२१ मा निजी खर्चमा बागीश्वरी माविका लागि पुस्तकालय तथा विसं २०५२ मा नुवाकोट क्षेत्र नम्बर २ मा बागीश्वरी गाविसमा निजी रु तीन लाखको श्रोतमा राधाकृष्ण मन्दिरको निर्माणसमेत गरे । साथै उक्त क्षेत्रको वातावरण सरसफाइ र वनजङ्गल संरक्षणमा समेत उनको योगदान छ । “हामीले मरेपछि पनि लैजाने भनेको काम र नाम मात्रै हो”, उनले भने । समाजलाई असल कर्मको पथमा डोहोर्याउनु आफ्नो धर्म रहेको उनी बताउँछन् । विभिन्न सामाजिक काममा समेत क्रियाशील प्याकुरेल हाल ब्रह्माकुमारी राजयोगमा लागेर समाजसेवामा संलग्न छन् ।

काठमाडौँ महाराजगञ्जमा गीता पाठशाला समेत सञ्चालन गरिरहेका प्याकुरेल हाल योगबाट नै मृतात्मासँग सम्पर्क गरिरहेको जिकिर गर्छन् ।
– मीना घोरसाइने (रासस)

प्रकाशित : 25 November, 2018

प्रतिक्रिया दिनुहोस्