तरकारी खेतीबाट वार्षिक रु सात लाख बराबरको आम्दानी

सहयात्रा टिभी

भोजपुर । मंसिर–९, भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।

व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले निकै राम्रो आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीको लागि साढे पाँच वर्ष कतारमा बिताएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर उदाहरणीय पात्रसमेत बनेका छन् । कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले भने तरकारीखेतीबाट वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी लिने गरेको बताउँछन् ।

राई भन्छन्, “कतारको तातो घाम करीब छ वर्ष बिताएँ, तर खासै कमाउन सकिन, अहिले यही तरकारीखेतीमा लागेर वार्षिक रु सात लाखसम्म आम्दानी गरिहेको छु ।” राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उनले मौसमअनुसार काउली, बन्दा, गोलभेंडा, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेका छन् ।

बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उनको दुःखेसो छ । राईले भने, “बजारको राम्रो व्यावस्था नुहँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए म जस्ता कृषकलाई सहज हुने थियो ।”

जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्तो खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरूको कथन छ । रासस

प्रकाशित : 25 November, 2018

प्रतिक्रिया दिनुहोस्