केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ– ट्रम्प

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१६, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताए । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले शनिबार बताएका हुन् ।

अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह (जी–२०) बैठकबाट स्वदेश फर्कनेक्रममा विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै उनले गत जुनमा सिङ्गापुरमा किमसँग भएको शिखर बैठकको निरन्तरताका लागि अर्को बैठकको तयारी भइरहेको जानकारी दिए।

“शिखर बैठकका लागि तीनवटा सम्भावित ठाउँका बारेमा प्रारम्भिक छलफल भएको छ, तर टुङ्गो लागेको छैन,” राष्ट्रपति ट्रम्पले भने ।

गत जुनमा सिंगापुरमा भएको ट्रम्प र किमको पहिलो ऐतिहासिक बैठकपछि कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरणका सन्दर्भमा केही कामहरु भएका छन् ।

सिंगापुर बैठकका क्रममा व्यक्त प्रतिबद्धता बमोजिम उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम त्याग्ने सङ्केत स्वरुप केही ठोस कार्य गरेको देखाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नोभेम्बरको शुरुमै उत्तर कोरियाका वरिष्ट अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको थियो । उत्तर कोरियाले पछिल्ला दिनहरुमा आफ्नो देशविरुद्ध लागेका प्रतिबन्धहरु फुकुवा हुनुपर्ने माग गरिआएको छ ।

शुक्रबार मात्र, ट्रम्पले जी–२० सम्मेलनका क्रममा ब्युनस आयर्समा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् । रासस

प्रकाशित : 2 December, 2018

प्रतिक्रिया दिनुहोस्