गाईघाटमा प्रदेशस्तरीय दोस्रो घरेलु महोत्सव शुरु

सहयात्रा टिभी

गाइघाट । मंसिर–२२, उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला परिसरमा दश दिने प्रदेश नं १ स्तरीय दोस्रो घरेलु महोत्सव शुरु भएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरको आयोजनामा शुरु भएको सो महोत्सवमा उदयपुरबाट उत्पादित काठ तथा बाँसका विभिन्न हस्तकलाका सामग्री, विभिन्न धातुका भाँडा, अगरबत्ती, घरेलु टोपी, स्थानीय जातजातीको खानाका विभिन्न परिकारका वस्तुसहितका उत्पादित वस्तु राखिएका छन् ।

जिल्लाभित्र उत्पादित विभिन्न घरेलु वस्तु प्रदेशका विभिन्न जिल्लासम्म प्रचारप्रसार गरेर बजार विस्तार गर्ने लक्ष्य महोत्सवको छ ।
यस्तै जिल्ला बाहिर अन्य जिल्ला इलाम, ताप्लेजुङका चौरीका छुर्पी, भोजपुरे खुकुरी, ओखलडङ्गा रुम्जाटारे राडीपाखीसमेत महोत्सवमा राखिएको घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरका अध्यक्ष मधुकर थापाले बताए ।

महोत्सवमा एकसय पचास व्यापारीक स्टल राखिएका छन् भने प्रदेश नं १ का दश जिल्लाका व्यापारी तथा उद्यमीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

२९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा दुई करोड भन्दा बढी आर्थिक कारोबार हुन सक्ने आयोजकको अपेक्षा छ । प्रदेश नं १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले शुक्रबार महोत्सवको उद्घाटन गरेका थिए । रासस

प्रकाशित : 8 December, 2018

प्रतिक्रिया दिनुहोस्