=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दैः वृद्धाश्रममा बस्नुपर्ने बाध्यता

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२२, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ ।

ज्येष्ठ नागरिकका परिवार नहुनु, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण ज्येष्ठ नागरिक घरबार छाडी वृद्धाश्रममा बस्न बाध्य हुँदै गएको अध्ययनले देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘वृद्धाश्रम, कल्पवास, दिवा सेवा केन्द्र र स्याहार केन्द्रसम्बन्धी अध्ययन प्रतिवेदन–२०७५’ मा ज्येष्ठ नागरिकले आफ्ना परिवारबाट टाढा रहेर वृद्धाआश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको उल्लेख छ ।

आयोगका सदस्य प्रकाश वस्तीले प्रतिवेदन सार्वजनिक गर्दै भने, “ज्येष्ठ नागरिक निकै पीडामा छन्, सरकारले वृद्धाश्रम निर्माणका लागि लगानी गरेको छ तर लगानीअनुरूप प्रभावकारी अपेक्षित देखिँदैन ।”

मुलुकमा पश्चिमा संस्कृति प्रभाव बढ्दै जानु र युवाशक्ति अध्ययन वा रोजगारीका क्रममा विदेशिँदा पनि जेष्ठ नागरिक वृद्धाश्रममै बस्न विवश छन् । अध्ययनले समयमै सचेत नभए भविष्यमा यसले विकराल रूप लिने खतरा रहेको बताएको छ । आयोगले २०७४ चैतदेखि २०७५ असोजसम्म ४९ जिल्लामा ८६ वृद्धाश्रम, ३० दिवा सेवा केन्द्र र छ स्याहार केन्द्रको प्रत्यक्ष अनुगमन गरेको थियो ।

वृद्धाश्रम (आवासीय प्रबन्ध), कल्पवास (आफ्नै खर्चमा धार्मिकस्थलमा कुटी बनाई वा सम्झौतामा लिई आफँै व्यवस्थापन गरी बस्नु), दिवा सेवा केन्द्र (आफ्नै भरमा बस्ने, खाने, सुत्ने र दिनमा भेट्ने) र स्याहार केन्द्र (अशक्त वा विदेशमा परिवार रहेका ज्येष्ठ नागरिकलाई शुल्क तिरेर बस्ने ठाउँ) का बारेमा आयोगले अध्ययन गरेको हो ।

नेपालको जनगणना २०६८ सालका अनुसार नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २१ लाख ५४ हजार तीन थियो । तर बढ्दो औसत आयु र घट्दो जन्मदरका कारण तीनदेखि तीन दशमलव पाँच प्रतिशतसम्म ज्येष्ठ नागरिकको सङ्ख्या बढेको अध्ययनले देखाएको छ ।

विसं २०७५ कात्तिक मसान्तसम्म ज्येष्ठ नागरिकको सङ्ख्या २५ देखि २८ लाखसम्म भएको प्रक्षेपण गरिएको छ । देशभर ६४ जिल्लामा १४१ वृद्धाश्रम छन् । ती वृद्धाश्रममा एक हजार ५७७ जना रहेका छन् । त्यसमध्ये महिला बढी रहेका छन् । महिला ९६५ र पुरुष ६१२ रहेका छन् । दुई वटाबाहेक सबै वृद्धाश्रमका आफ्नै भवन छन् । छ वटा स्याहार केन्द्र भाडामा सञ्चालन भएका छन् भने नौ वटा दिवा सेवा केन्द्रका आफ्नै भवन रहेका छन् ।

एक वृद्धाश्रममा एक वद्धा

अध्ययनका क्रममा सरकारले सञ्चालन गरेको आठ वटा वृद्धाश्रम एक जना मात्र वृद्धा बस्ने गरेको भेटिएको छ । एक जना वृद्धाका लागि सबै स्रोत साधनको प्रयोग भइरहेको छ । त्यसबारेमा सरकारले अध्ययन गर्न जरुरी छ ।

त्यसैगरी तीनभन्दा कम आश्रित रहेको वृद्धाश्रम १० वटा रहेको छ । दश वा सोभन्दा कम आश्रित रहेको वृद्धाश्रम ४० वटा छन् । साथै १५ वा सोभन्दा कम आश्रित रहेको वृद्धाश्रम ५८ वटा छन् भने २० जनाभन्दा बढी बस्ने वृद्धाश्रम २७ वटा छन् ।

वृद्धाश्रमका नाममा करोडौँ लगानी

सरकारले वृद्धाश्रम खोल्न र सञ्चालन गर्न करोडौँ लगानी गरेको देखिन्छ । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७५र०७६ मा रु १० करोड ७० लाख वृद्धाश्रम भवन बनाउन लगानी गरेको छ । सोही मन्त्रालयले आव २०७४र०७५ मा रु आठ करोड ३० लाख लगानी गरेको थियो । त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आव २०७३र०७४ मा रु १३ करोड १६ लाख खर्च गरेको थियो । अर्थ मन्त्रालयले सोही आवमा रु सात करोड १९ लाख लगानी गरेको थियो ।

आयोगले गरेको अध्ययन प्रतिवेदनअनुसार लगानीअनुसार वृद्धाश्रमको अवस्था राम्रो देखिँदैन । वृद्धाश्रम छ भनिएको स्थानमा वृद्धाश्रम नै नभेटिएकोसमेत पाइएको आयोगका सदस्य प्रकाश वस्तीले अध्ययनको अनुभव सुनाए ।
रासस

प्रकाशित : 8 December, 2018

प्रतिक्रिया दिनुहोस्