हिंसाविरुद्धको अभियान : होटल व्यवसायी संवेदनशील हुनुपर्ने

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२३, होटल क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्नेमा सर्वसाधारणले जोड दिएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाण्डौँको तारकेश्वर नगरपालिकाको राजमार्ग क्षेत्रका होटल व्यवसायीसँग भएको अन्तक्र्रिया कार्यक्रममा होटलमा हिंसा बलात्कार र आक्रमणका घटना बढेकाले व्यवसायीहरू सचेत हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

काठमाण्डौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले सामाजिक सञ्जालले लैङ्गिक हिंसा बढाएको बताउँदै हिंसा नियन्त्रणका लागि सबैको हातेमालो आवश्यक रहेको बताए । उनले होटल व्यवसायमा हुने विकृति नियन्त्रणका लागि सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिए ।

बालाजुस्थित महानगरीय प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले महिला बेचबिखनका लागि होटल नै प्रयोग हुने गरेकाले होटलमा आउने हरेक व्यक्तिको स्पष्ट विवरण राख्न आग्रह गरे ।

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले होटल व्यवसायमा देखिएको यस्ता समस्या रोक्न प्रहरीसँग मिलेर काम गर्नुपर्ने र समुदायमा जनचेतना जरुरी रहेको औँल्याए । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल मूल समन्वय समितिकी अध्यक्ष देविना कार्कीले हिंसा रोक्न सबैको सहकार्य जरुरी रहेको बताइन । रासस

प्रकाशित : 9 December, 2018

प्रतिक्रिया दिनुहोस्