रुसी वैज्ञानिकको मृत्यु, पुन प्रयोगको लागी दिमाग निकालेर फ्रिज गरियो

काठमाण्डौं । मंसिर–२५, मानिसलाई दोस्रो जीवनको आशा दिलाउने रुसी वैज्ञानिक डा. युरी पिचुगिनको ६७ वर्षको उमेरमा नोभेम्बरको अन्त्यमा निधन भएको छ । उनको दिमाग पछि पनि प्रयोग गर्ने उद्देश्यअनुसार माइनस १९६ डिग्री सेल्सियस तापक्रममा राखिएको डेली मेलले जनाएको छ ।
डा. युरीले फ्रैंकेस्टाइन प्रविधिको खोजी गरेका थिए । यसको माध्यमबाट मानिसको दिमागलाई खास रसायनमा राखेर फ्रिज गरिन्छ । यसलाई क्रायो-प्रिजर्वेशन भनिन्छ । वैज्ञानिकहरुका अनुसार यस्तो दिमागलाई दोस्रोपटक प्रयोग गर्न सकिन्छ ।
क्रायोरसकी प्रवक्ता वेलेरिया उदालोवाले युरीको हृदयघातका कारण मृत्यु भएको जानकारी दिइन् । छिमेकीले उनको शव घर बाहिर भेटेका थिए त्यतिबेला तापक्रम माइनस सात डिग्री थियो । त्यस्तो चिसोमा उनको शव रातभरी घर बाहिर भएकाले पनि उनको दिमागलाई संरक्षित गरेर राख्ने मौका मिलेको बताइएको छ । डा. युरीले प्रतिपादन गरेको यो प्रविधीको प्रयोग अमेरिका र रुसमा गरिन्छ ।
भविष्यमा विज्ञानको विकास भएपछि यस्तो प्रकारको दिमाग पुनः प्रयोगमा ल्याउन मौका मिल्छ । यद्यपी, युरी आफ्नो दिमाग फ्रिज गराइयोस् भन्ने पक्षमा थिएनन् । प्रविधीमाथि शंका लागेर नभई नैतिकताका लागि यस्तो नगरियोस् भन्ने उनको चाहना थियो । उनको भनाई थियो, ‘मानवताको यो रुपले मलाई चोट पुर्याउँछ ।’डा. युरीको प्रविधीको आधारमा वैज्ञानिक अत्यधिक चिसो तापक्रममा राखिएको दिमागको प्रयोग केही दशक वा शताब्दीपछि हुनसक्ने दाबी गर्छन् ।
भविष्यमा विज्ञानको सफलतापछि यो दिमागको प्रयोग कुनै अन्य शरिरमा पनि गर्न सकिनेछ । जुन वेयरहाउसमा डा. यूरीको दिमाग राखिएको छ, त्यहाँ ६६ अन्य व्यक्तिहरुको दिमाग क्रायो–प्रिजर्भेशन प्रविधीमा राखिएको छ । यसबाहेक ३२ घरपालुवा जनावरको दिमाग पनि सुरक्षित राखिएको छ ।