इपीएल : विराटनगरद्धारा पोखरा राइनोज पराजित

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२५, एभरेष्ट प्रिमियर लिग (इपीएल २०१८) को पहिलो सुपर ओभर खेलमा विराटनगर वारियर्स विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो ।

सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका थिए भने करण केसीले १५, रोबिन क्षेत्री र हरि चौहानले समान १२/१२, भान डेर मेर्वीले ११ तथा कप्तान पारस खड्काले एक रन जोडेका थिए ।

पोखराका विपीन खत्रीले तीन तथा सुसन भारी, विक्रम सोब र पाउल कलीनले समान दुई/दुई विकेट झारे । त्यसअघि पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । पोखराले १९ रन जोड्दा चार विकेट गुमाएको थियो । पोखराका पाउल कलीनले सर्वाधिक २० रन जोडे भने राजेश पुलामी मगरले १७, रिचर्ड लेभी तीन तथा कप्तान कोएट्जरले चार रन जोडे । विराटनगरका पाउल भान मिकेरिनले तीन तथा भान डेर मेर्वीले दुई विकेट लिए । जितसँगै विराटनगरले दुई खेलबाट चार अङ्क जोडेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।

लगातार तेस्रो हार बेहोरेको पोखरा दोस्रो चरणमा पुग्ने सम्भावना न्यू हँुदै गएको छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो । रासस

प्रकाशित : 11 December, 2018

प्रतिक्रिया दिनुहोस्