=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


‘स्वदेशमा दुःख, विदेशमा बढी दुःख पाउँदै महिला’

सहयात्रा टिभी

काठमाण्डौं । पुष–४, दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्किन।

सानैमा बिहे गरेकी उनी श्रीमानले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत गएकी थिइन । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उनलाई खाडी पु¥यायो । श्रीलङ्का हुँदै कतार पुगेकी उनी घरेलु श्रमिकका रुपमा दैनिक १९/२० घण्टा काम गर्थिन । खटाइ धेरै भए पनि त्यसैका आधारमा उनको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उनी खुशी नै थिइन। ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा धुनेलगायतका काममा लागिन। काम गरेको घरको साहुनीको भाइले बलात्कार गरेपछि उनी गर्भवती बनिन । उनले भनिन, “उसले अरुलाई भनिस् भने नेपाल जान पाउँदिनस् भनेकाले चुपचाप बसिरहेको थिएँ ।”

गर्भवती भएको थाहा पाएपछि साहुनीले अस्पतालमा लगेर शल्यक्रिया गराएको उनले बताइन। चार दिनसम्म अस्पतालमा हुँदा रेखदेख गर्ने कोही भएन । अस्पतालबाट उनलाई सिधै प्रहरीले जेल लगे । त्यहाँको जेलमा नै उनले साढे तीन महीना काटिन । रोएर कराएर मलाई नेपाल पठाउनु भन्दै अनुरोध गरेपछि उी त्यहाँबाट छुटिन । विमानस्थलमा आइपुगे पनि उनीसँग फर्कन पैसा थिएन । एकजना वृद्ध महिलासँग रोएपछि उनैले टिकट किन्न पैसा दिइन । अहिले नेपालमा आए पनि उनी घर र माइती कहीँ पनि जान सकेकी छैनन । उनी भन्छिन, “यो बच्चा बोकेर घर र माइती दुवै फर्कन सकिरहेको छैन ।”

मनमाया उदाहरण मात्रै हो अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइरहँदा धेरै महिला कामदार न्यायको खोजीमा भौँतिररहेका छन् । कतिपय महिला बलात्कारपछि जन्मेका सन्तान लिएर फर्किएका छन् भने कतिपय दीर्घरोगका शिकार भएर फर्किएका छन् । खाडीमुलुकमा घरेलु श्रमिकका रुपमा जानेमध्ये कतिपय श्रीमान्लगायत परिवारका सदस्यबाट हिंसा भोगेकाले अन्तिम विकल्प वैदेशिक रोजगारी बनाएका थिए । उनीहरुमध्ये कतिपय महिला उता पुगेर थप पीडित बनेका छन् ।

मनिता (परिवर्तित नाम) चिनजानको महिलाका मार्फत कुवेत पुगेकी थिइन । उनको १४ वर्षमा बिहे भएको थियो । श्रीमान् कतार गएपछि छोरालाई पढाउने, बढाउने जिम्मेवारी उनी एक्लैको भयो । श्रीमान्ले विदेशबाट पैसा नपठाएपछि तीनै महिला (जसलाई उनी सानिमा भन्थिन) ले आर्थिकरुपमा सहयोग गर्न थालिन । पहिले नपढे पनि जापान पठाउँछु भनेकी ती महिलाले जापान जान धेरै पैसा लाग्ने भन्दै कुवेत पठाउने कुरा गरिन । पैसा कमाएर छोरा सजिलै पाल्न सक्छु भन्दै उनी राहदानी बनाउनेलगायतका तयारीमा जुटिन । यहाँबाट भारत जाँदा ती महिलाले “भारतमा दिदी भिनाजु छन् त्यही जान्छु” भनेर जाँच हुने ठाउँमा झुटो बोल्न सिकाइन । केही समय भारतमै एउटा परिवारका लागि काम गरेपछि मनिता त्यहाँबाट कुवेत पुगिन । उनले भनिन, “भनेकै ठाउँमा पुगेपछि के न होला भनेको उता पनि केही भएन ।”

मनिता कुवेत पुग्दा एउटा कोठामा बन्धक भएका सात जना महिला र एकजना पुरुष भेटिन । तीमध्ये एकजना गर्भवती महिलाले उनलाई आफूहरु सबै बेचिएर यहाँ आइपुगेको भनिन । मनिता त्यहाँबाट अनेक बहाना गरेर फुत्किन र भारत पुगिन । उनको खोजीमा भारत पुगेका माइतीसँगै नेपाल फर्किएर आइन। अहिले उनी दलाललाई पक्राउ गराउन सफल भएकी छन् । उनले भनिन, “विदेश गएर पनि केही कमाउन नसके पनि अब दलाल पक्राउ परेकाले उसलाई कारवाही भइदिए हुन्थ्यो भन्ने लागेको छ ।”

दलालले भनेजस्तै पैसा कमाएर भविष्य सपार्ने आशामा विदेश उडेका कामदार फर्किएर तीनै दलाल पक्राउ पर्ने आशा गर्छन् । विदेशमा दुःख पाएर फर्किएका महिला आफूलाई झुक्काएर पठाउने दलाल पक्राउ परेर कारवाही नहुँदा भने झनै दुःखी हुन्छन। कुवेतमा बेचिएकी सुनमाया (परिवर्तित नाम) अहिले दलाललाई कारवाही हुने आशामा काठमाण्डौँमा छिन। उनले भनिन, “अब यही केही गर्नुपर्छ भन्ने लागेको छ ।”

घरेलु श्रमिकका रुपमा खाडी पुग्दा दुईतीन घण्टा आराम गरेर २०÷२१ घण्टासम्म काम गर्दासमेत भने जति तलब नपाउने पीडा उनीहरुले भोगेका थिए । अधिकारका कुरा उठाएकै भरमा कारागारमा पर्ने नेपाली महिला धेरै छन् । कतिपय महिला कामदारले शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् । यहाँबाट एउटा देश भन्दै लगेर अर्को देश पु¥याउने, भनेकोभन्दा बढी काम र कम तलब हुँदा उनीहरु पीडित बनेका हुन् । रासस

प्रकाशित : 19 December, 2018

प्रतिक्रिया दिनुहोस्