म्याडागास्करको चुनाव : राष्ट्रपतिका दुबै उम्मेदवारले गरे जितको दाबी
अन्तानानारिभो । पुष–६, म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आ–आफू विजयी भएको दाबी गरेका छन् । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।
दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने सम्भावना छ ।
‘भोलि अवश्य परिवर्तन आउनेछ, र पापाले जित्नेमा तपाइँहरु ढुक्क हुनुहोस्,’ पापा भनेर चिनिने राभालोमानानाले आफ्ना समर्थकलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै भने । ‘मतगणना जहाँ पुगोस्, एउटा मात्र नतिजा आउँछ, हामी जित्छौं ।’
तर, उनका विपक्षी राजोलिनाले भने, ‘मैले चुनाव जित्नेमा म विश्वस्त छु ।’ गत नोभेम्बरमा भएको पहिलो चरणको चुनावमा दुबै उम्मेदरबीच कडा प्रतिस्पर्धा भएको थियो । यी दुबै उम्मेदवारलाई मुलुकमा सङ्कट निम्त्याएको भन्दै सन् २०१३ मा उम्मेदवार बन्न दिइएको थिएन । म्याडागास्कर सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको हो ।
पहिलो चरणको निर्वाचनमा राजोलिनाले ३९ प्रतिशत र राभालोमानानाले ३५ प्रतिशत मत प्राप्त गरेका थिए । दुबैले चुनावमा धाँधली भएको एकअर्कामाथि आरोप लगाउँदै आएका छन् ।
दोस्रो चरणको चुनाव बुधबार सम्पन्न भएको थियो । चुनावी मतगणना ढिलो भइरहेकाले अर्को सातामात्र औपचारिक नतिजा सार्वजनिक हुनेछ ।
राभालोमानाना सन् २००२ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए तर राजोलिनाको समर्थनमा भएका हिंसात्मक प्रदर्शनबाट सात वर्षपछि राभालोमानानालाई राजीनामा गर्न बाध्य पारिएको थियो ।
राजोलिनालाई सैनिकको सहयोगमा राष्ट्रपतिमा ल्याइयो र उनले सन् २०१४ सम्म मुलुकको शासन सत्ता चलाए । –एएफपी