विश्वभर क्रिसमस पर्व मनाइँदै, चर्चहरुमा विशेष रमझम

काठमाण्डौं । पुष–१०, इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका अवसरमा आज विश्वभर क्रिसमस पर्व मनाइँन्छ ।
नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरिँदै छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ ।
क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
२ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ ।
०६४ अघिसम्म क्रिसमसडे चर्चमा मात्र सीमित हुने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको छ ।
क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, बौद्धमा कार्यक्रम हुने गरेको छ । त्यस्तै ललितपुर, भक्तपुर, पोखरालगायत स्थलमा पनि सांगीतिक कार्यक्रम गर्ने गरिएको छ । क्रिसमस ट्रीलगायतका सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ ।