गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१५, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, काठमाण्डौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उहाँले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताए ।

उनले भने, “सञ्चार क्षेत्रमा लागेका सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन । विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिनुस्, जहाँ जहाँ परे पनि परोस् । भएका कमीकमजोरीबारे लेखिएमा धन्यवाद दिन्छौँ तर सत्यसित कुनै साइनो नभएका समाचार सम्प्रेषण गरिनु निन्दनीय हो । यस्तो नहोस् ।”

उपप्रधानमन्त्री पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भएर सङ्घीय प्रणाली लागू भएको र वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएर सबै तहमा सत्ताको नेतृत्व गरिरहेको स्थितिमा यसलाई सामान्य सरकार परिवर्तनको विषयका रुपमा नलिन आग्रह गर्दै उनले नयाँ चुनौतीको सामना गर्न तथा संविधानका राम्रा कुरा कानून र संरचना बनाएर कार्यान्वयनमा जाने सवालमा सहयोग गर्न आग्रह गरे।

सञ्चार माध्यमलाई सरकार र पार्टी (नेकपा) का तर्फबाट उपलब्ध हुनुपर्ने सूचना र अन्य सहयोगका लागि आफूहरु तयार रहेको पनि उनले स्पष्ट गरे । कार्यक्रममा पत्रकार आचारसंहिता र डिजिटल पत्रकारिताबारे छलफल गरिनुका साथै शाखाको साधारणसभाको बन्द सत्र सञ्चालन हुनेछ । रासस

प्रकाशित : 30 December, 2018

प्रतिक्रिया दिनुहोस्