व्यक्तिगत खर्चमा समाजसेवा गर्दै नगरप्रमुख नेपाली
बलेवा । पुष–१७, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आएका छन् ।
उनले अहिलेसम्म तलबभत्ता पनि लिएका छैनन् । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहेका छन् । “केही परिवर्तन गरेर देखाउँछु,” नेपालीले भने । आफ्नो कार्यकालमा टहरामा बस्दै आएका नागरिकका लागि जस्तापाताको व्यवस्था गर्ने उनको योजना छ । अहिलेसम्म उनले आफ्नै खर्चमा ४६१ परिवारलाई जस्तापाता उपलब्ध गराएका छन् ।
बुर्तिवाङस्थित निसीभुजी जनता क्याम्पसलाई नगरप्रमुख नेपालीले रु २१ लाख सहयोग गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालले बताए र नेपालीले शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ५१ शिक्षक व्यक्तिगत खर्चमा नियुक्त गरेका छन् । उनीहरुलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध गराएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यालयलाई दुई, १ देखि ५ सम्मकालाई तीन र कक्षा १० सम्मकालाई चार शिक्षक उपलब्ध गराएका छन् ।
कूल डेढ सय शिक्षक आवश्यक पर्नेमा उहाँले एकतिहाइ शिक्षकको तलब आफैले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । नगरभित्र ४४ विद्यालय छन् । नेपालीले आर्थिक अवस्था कमजोर भएका, दलित, अपाङ्ग र एकल महिलालाई निःशुल्क यातायातको व्यवस्था गराउने घोषणा गरेका छन् । बुर्तिवाङदेखि पोखरासम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निःशुल्क सेवा दिनका लागि सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको नेपालीले बताए । रासस