हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल

सहयात्रा टिभी

दमौलि । पुष–१८, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताबीच हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । बन्दीपुर गाउँपालिका–१ मा मंगलबार नाहालामा आयोजना गरिएको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताएका हुन् ।

उनले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिए । नेता पौडेलले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गरे । उनले भने, “पार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउन र नक्कली एकता काम छैन ।”

उनले पार्टीमा गलत काम भएपछि विरोध हुनु स्वभाविक भएको भन्दै सभापतिले समग्र पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिए । सभापति पार्टीका कार्यकर्ताको भावनाअनुसार चल्न नसकेकाले आफूले सभापतिविरुद्ध आवाज उठाउनु परेको उनको भनाइ थियो । कांग्रेस सदनमा हराएको जस्तो देखिएको उल्लेख गर्दै उनले सरकारलाई खबरदारी गर्न समेत प्रतिपक्षीले नसकेको बताए ।

कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, महाधिवेशन प्रतिनिधि दिपक भट्टराई र मानकाजी श्रेष्ठ, क्षेत्रीय संयोजक सहदेव अधिकारी, बन्दिपुर गाउँपालिका सभापति कर्णबहादुर खत्री, वडा नम्बर १ का सभापति रेशमबहादुर थापा लगायतले पार्टीमा गुटबन्दी अन्त्य हुनु पर्नेमा जोड दिएका थिए । रासस

प्रकाशित : 2 January, 2019

प्रतिक्रिया दिनुहोस्