हर्न निषेधित तथा प्लाष्टिक नियन्त्रण अभियान शुरु

सहयात्रा टिभी

वीरगञ्ज । पुष–१८, वीरगञ्ज महानगरपालिकाले मंगलबारदेखि हर्न निषेधित तथा प्लाष्टिकमुक्त अभियान शुरु गरेको छ ।

बढ्दै गएको हर्न तथा प्लाष्टिकको प्रयोगले महानगर क्षेत्रमा प्रदूषण बढ्नुका साथै नगरक्षेत्र कुरुप बन्न थालेपछि सोको नियन्त्रण गरी स्वच्छ नगर बनाउने लक्ष्य लिइएकोे छ।

प्लाष्टिकको प्रयोगले आँखाको समस्या, दम, फोक्सोको क्यान्सर, थाइराइड र प्रजननसम्बन्धी हर्मोनको समस्या हुने गरेको छ । महानगरले आजदेखि ३० माइक्रोनभन्दा कमका प्लाष्टिक उत्पादन र प्लाष्टिकजन्य पदार्थको उपयोगमा कडाइका साथ नियन्त्रण गर्ने तथा प्रेसर हर्न बजाउन बन्देज लगाएको छ ।

नगरप्रमुख विजयकुमार सरावगीले आफ्नो मौलिकता संरक्षण र विकासमा मात्र सामाजिक समृद्धि सम्भव भएकाले सो प्राप्ति गर्न पहिलो चरणमा जनतालाई सुसूचित गर्न सो अभियानको थालनी गरिएको र उक्त अभियान उल्लङ्घन गर्नेलाई कारवाही गरिने बताए ।

बत्तीस वडा रहेको महानगरभित्र दुई लाख ४० हजार ९२२ जनसङ्ख्या रहेको छ । नगरक्षेत्रभित्र दैनिक निस्कने ८० टन फोहरमध्ये बढी प्लाष्टिक नै हुने गरेको बताइएको छ ।रासस

प्रकाशित : 2 January, 2019

प्रतिक्रिया दिनुहोस्