मेलम्चीका ठेकेदार साेमबार नेपाल फर्किने, समय थपेर भए पनि काममा खटाउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी (इटली) पुनः काममा फर्किने भएको छ । क्रिसमस एवं नयाँ वर्ष बनाउन स्वदेश फर्किएको ठेकेदार कम्पनीका प्रतिनिधिहरु भोलि सोमबार नेपाल फर्कने र आयोजनाको बाँकी काम अगाडि बढाउने बताइएको छ ।
मेलम्ची आयोजनाले जानकारी दिएअनुसार, सोमबार सिएमसीका प्रतिनिधि नेपाल फर्किएलगत्तै कम्पनीका प्रमुखसहित इन्जिनियरहरुसँग वार्ता गरी बाँकी काम अगाडि बढाउने तयारी भइरहेको छ
काम बीचैमा छाडेर भाग्न खोजेको भन्दै कम्पनीका पदाधिकारीहरुको पासपोर्ट सरकारले जफथ गरेको थियो । पछि खानेपानी मन्त्रालयले छलफलमार्फत कम्पनीका प्रतिनिधि र इन्जिनियरहरु क्रिसमस तथा नयाँ वर्ष मनाउन आफ्नो देश जान अनुमति दिएको थियो ।
यस काममा नेपालस्थित इटालियन दूतावासले मध्यस्थता गरेको थियो । दूतावासले आयोजनाको सुरुङ र हेडबक्सको बाँकी काम सम्पन्न गर्न कम्पनीलाई पहल गरेपछि सरकारले कम्पनीका उनीहरूलाई जान दिएको थियो ।
अब नेपाल फर्केलगत्तै कम्पनीका तर्फबाट प्रतिनिधिहरुले आयोजना सम्पन्न गर्न थप समय माग्ने देखिएको छ । ठेकेदार र अायाेजनाबीचकाे पटकपटककाे विवादले अायाेजना सम्पन्न गर्ने समय लम्बिँदै गएकाे छ ।
अन्तिम चरणका काम मात्रै बाँकी रहेको हुँदा जसरी भए पनि ठेकेदारलाइ काममा खटाउने पहल आयोजनाका तर्फबाट भइरहेको छ । स्रोतका अनुसार, कम्पनीका आवश्यक शर्त मानेर उसलाई पुनः कामको जिम्मेवारी दिने तयारी भइरहेको छ ।