आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाण्डौं । पुष–२७, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ।
सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन्। राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक बिदा नदिए पनि सरकारी सहभागितामै पृथ्वीजयन्ती मनाइँदैछ । राष्ट्रनिर्माताको राजकीय मान्यता दिँदै सरकारले पृथ्वी जयन्ती मनाएको हो ।