भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ

सहयात्रा टिभी

नवलपरासी । पुष–३०, पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।

वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हुँदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ ।

यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यो छोटी भन्सार कार्यालयमा वर्षौदखि स्थानीयवासी मन्सुर अलीले छोटी भन्सार कार्यालयमा सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दै आइरहेका छन् ।

छोटी भन्सार कार्यालयको माथिल्लो निकाय मानिने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयले उपलब्ध गराएको कागजातका आधारमा सेवा प्रवाह गर्दै आएको अलीले जानकारी दिए ।

आफूले वर्षौंदेखि यस कार्यालयको काममा सहयोग गर्दै आएको बताउँदै यस कार्यालयमा खटिएका कर्मचारी नियमितरुपमा कार्यालयमा नआउने भएकाले कार्यालयको सबै काम गर्दै आएको उनले जानकारी दिए ।

नवलपरासीमा गुठीप्रसौनीसहित विष्णुपुरा, भुजहवा र त्रिवेणी गरी चारवटा छोटी भन्सार कार्यालय छन् । सबै छोटी भन्सार कार्यालयले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनका लागि अस्थायी अनुमति दिने काम गर्दछन् ।

गुठीप्रसौनी मात्र होइन त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयको समस्या पनि उस्तै रहेको र ती छोटी भन्सार कार्यालयमा समेत भन्सारका कर्मचारी नभई अन्य बाह्य सर्वसाधारणले दैनिक काम काज गर्दै आएको अवस्था रहेको महेशपुर मूल भन्सार कार्यालयले जनाएको छ ।

विशेष गरी गण्डकी प्रदेशअन्तर्गत पर्ने पूर्वी नवपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा खटिएका कर्मचारी नबस्ने गरेको स्थानीयको भनाइ छ । महेशपुर मूल भन्सार कार्यालयबाट सबै छोटी भन्सार कार्यालयमा चक्रीय प्रणालीमा कर्मचारी खटाइने भए पनि छोटी भन्सार कार्यालयमा नियमितरुपमा कर्मचारी जाने गरेका छैनन् ।

कर्मचारी अभावमा गुठीप्रसौनी, त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयमा अन्य बाह्य सर्वसाधारण व्यक्तिले सेवा प्रवाह गर्दै आएको कार्यालय प्रमुख हेमचन्द्र शर्माले स्वीकार गरे ।

आगामी दिनमा नियमित रुपमा सबै छोटी भन्सार कार्यालयमा कर्मचारीको उचित व्यवस्थापन गरिने योजना रहेको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

नेपाल–भारत सीमा क्षेत्रमा देखिने विभिन्न आपराधिक क्रियाकलापमा सवारी साधनको आवागनसमेत मुख्य विषय बन्न सक्छ तसर्थ यस्तो संवेदनशील कामप्रति सरोकारवाला निकायको ध्यान पुग्न जरुरी देखिन्छ । केही महिना अघि मात्र स्तरोन्नति भएको महेशपुर मूल भन्सार कार्यालयमा समेत दरबन्दीअनुसार कर्मचारी नहुँदा छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा कर्मचारी पठाउन नसकिएको महेशपुर मूल भन्सारले जनाएको छ । रासस

प्रकाशित : 14 January, 2019

प्रतिक्रिया दिनुहोस्