आज हर्षोल्लासपूर्वक माघे सङ्क्रान्ति मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । माग–१, आज माघे सङ्क्रान्ति मनाइँदै छ । हरेक वर्ष माघ १ गतेलाई नेपाली समाजमा माघे सङ्क्रान्ति तथा मकर सङ्क्रान्ति पर्वका रुपमा मनाउने गरिन्छ ।माघे सङ्क्रान्ति नदी संगम त्रिवेणी तथा तीर्थहरुमा स्नान गरी भगवान् विष्णुको पूजाआजा गर्नुका साथै मेला भर्ने चलन छ ।

माघ १ गतेदेखि सूर्य मकर रेखामा संक्रमण भई उत्तरायण हुनेहुँदा यस सङक्रान्तिलाई मकर सङ्क्रान्ति भन्ने गरिएको हो । लोकमा माघ १ गतेदेखि सूर्य दक्षिणायनबाट उत्तरायाणमा प्रवर्तन हुनेहुनाले र रात छोटा हुँदै जाने र दिन लामा हुनथाल्ने मानिन्छ ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

प्रकाशित : 15 January, 2019

प्रतिक्रिया दिनुहोस्