पाल्पाको रामपुर उपत्यकामा प्याराग्लाइडिङ

सहयात्रा टिभी

पाल्पा । माग–१, पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो ।

रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो । पहिलो उडान बाहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो । दोस्रो उडान सिलुवाको लोस्दीबाट थालेर मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

“रामपुर प्याराग्लाइडिङका लागि अत्यन्तै सम्भावना बोकेको ठाउँ छ,” उनले भने । छब्बीस जिल्लामा प्याराग्लाइडिङ उडान गरिसकेका सुनुवारले नयाँ ठाउँ खोजी गर्ने क्रममा बाहुनडाँडा र सिलुवाको लोस्दीलाई छनोट गरिएको बताए । “यहाँ एक हजार २६६ मिटर उडेर लगभग तीन हजार मिटर माथिसम्म जान सकिने सम्भावना छ,” उनले भने, “यहाँबाट उडेर तराई र हिमालको काखसम्म पुग्न सक्ने सम्भावना छ ।” रामपुर नगरपालिका क्षेत्रलाई प्याराग्लाइडिङको हबका रुपमा चिनाउन अभियान थालिने नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । रासस

प्रकाशित : 15 January, 2019

प्रतिक्रिया दिनुहोस्