आज थप ४२१ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ९ हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं ।असार–०७,नेपालमा थप ४२१ जना सङ्क्रमित थपिएका छन् । योसँगै कुल सङ्क्रमित नौ हजार २६ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारीयस कुराको जानकारी दिएका हुन् । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् । थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा आठ महिला र १६७ पुरूष रहेका छन् । योसँगै एक हजार ७७२ निको भएका छन् । जम्मा निको हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेको बताइएको छ ।हाल सम्म रेड जोनमा ५०५ जना पुगेका छन् । आज दुई जना रेड जोनमा परेका बताइएको छ । पछिल्लो २४ घण्टामा छ हजार आठ जनाको नमूनाको पीसीआर टेस्टमा कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ९८ हजार ९२८ पुगेको छ । आइसोलेसनमा रहेकाको सङ्ख्या सात हजार २३१ पुगेको छ ।

गुल्मीका एक पुरूषको मृत्यु भएको छ । ती पुरुष प्यारालाइसिस उपचार गरेर जेठ २५ गते नेपाल आएका थिए । उनी होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै मृत्यु भएको थियो । उनको सोही दिन नमुना संकलन गरिएको थियो र ६ गते कोरोना पुष्टि भएको थियो ।उनको सेनाको सहयोगमा दाहसंस्कार गरिसकिएको छ ।हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका २, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका १, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगन्जका १, पर्साका १ र गुल्मीमा १ जनाको मृत्यु भएको हो । योसँगै हाल सम्म २३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यकाको ललितपुरमा एक जना महिला सङ्क्रमित भएका छन् ।

प्रकाशित : 21 June, 2020

प्रतिक्रिया दिनुहोस्