रियलको शीर्ष स्थान
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । असार –१०,रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियल सोसियडाडलाई उसैको मैदानमा २–१ गोलले हराउँदै रियलले शीर्ष स्थान कब्जा गरेको हो। उपाधि होडमा रहेको रियलले बार्सिलोनासँग अंक बराबर बनाएको छ। रियल ‘हेड टु डेड’का आधारमा अगाडि छ। लिगमा ३० खेल सकेको रियलले ६५ अंक बनाएको छ। साविक विजेता बार्सिलोनाको पनि समान ६५ अंक छ। रियलसँग पराजित सोसियडाड ४७ अंकसहित छैटौं स्थानमा छ।प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। रियलले ५०औं मिनेटमा पेनाल्टीमार्फत सुरुआती अग्रता लिएको थियो। रियलका निनिसियसलाई सोसियडाडका डियगो लोरेन्टले डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान सर्जियो रामोसले सदुपयोग गरेका थिए। त्यसपछि करिम बेन्जेमाले ७०औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। उनले डिबक्सभित्र पाएको बललाई नियन्त्रण गर्दै एकल प्रयासमा गोल गरेका थिए।
यसअघि सोसियडाडले ६८औं मिनेटमा अदनान जानुजाजको गोललाई रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायतामा मान्यता दिएनन्। ८३औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसियडाडलाई खेलमा फर्काउने प्रयास गरेका थिए। उनले रोवर्टो कोर्टुवाको पासमा उत्कृष्ट गोल गरेका थिए। खेलको अन्तिमसम्म थप गोल फर्काउने सोसियडाडको प्रयास सफल नबन्दा रियल विजयी भयो।यसैगरी आइतबार राति नै भएको अर्को खेलमा भ्यालेन्सियाले ओसासुनालाई २–० गोलले हरायो। घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन कोन्कालो गुइडेसले १२औं र रोड्रिगोले ३५औं मिनेटमा गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै पाएको पेनाल्टीमा रोड्रिगो चुकेका थिए। खेलभर भ्यालेन्सियाको दबाब झेलेको ओसासुनाले गोल गर्न लायक अवसर बनाउन सकेन। जितसँगै ३० खेलबाट ४६ अंक बनाएको भ्यालेन्सिया आठौं स्थानमा छ। ३५ अंक बनाएको ओसासुना १२औं स्थानमा छ।अर्को खेलमा सेल्टा भिगोले १० खेलाडीमा सीमित डिर्पोटिभो आल्भेसमाथि गोल वर्षा गरेको छ। घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलमा सेल्टा भिगोले आल्भेसलाई ६–० गोलले स्तब्ध बनायो। सेल्टा भिगोको जितमा राफिन्हाले दुई तथा जैसन मुरिल्लो, लागो आसपास, नोलिटो र सान्ती मिनाले एक/एक गोल गरेका थिए। २७औं मिनेटमा अलाभेसका मार्टिन अग्विरगाविरिया रातो कार्ड पाउँदै बाहिरिएका थिए। जितसँगै ३० अंक बनाएको सेल्टा भिगो १६औं स्थानमा छ। ३५ अंक बनाएको अलाभेस १३औं स्थानमा छ। अन्नपुर्ण पोष्टबाट