आज असार १५ दही चिउरा खाने दिन/ राष्ट्रिय धान दिवस

काठमाडौं । असार–१५, झमझम पानी, रोपाइँका बाउसे र रोपार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सने महिना हो असार। मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाड नै मानिन्छ । असार १५ मा दही चिउरा खाने र दिनभर रोपाइँ गर्ने चलन धेरै पहिलाबाट चलिआएको हो । अहिले नेपालका सबै भूभागमा किसानलाई धान रोपाइँको चटारो छ ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
असार लागेसँगै किसान रोपाइँमा जुटिसकेका छन् ।असारको मध्ये दिनलाई धान दिवसका रूपमा मनाउने चलन छ । असार १५ मा खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप् गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । यस दिन दही चिउरा पनि खाइन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शीतलता प्राप्त हुने जनविश्वास रहिआएको छ हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
नेपालमा २०६२ असार १५ देखि धान दिवस मनाउँदै आइएको छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल एउटै रहेको पाइएको छ ।रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा रहिआएको छ ।भने यो साल कोरोनाको असर असार १५लाई पनि परेको छ ।