ओली बिनानै प्रचण्डले सुरू गरे स्थायी कमिटी बैठक
काठमाडौं। असार–१८,अघिल्लो बुधबार सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि बसेको छ। बिहीबार बिहान ११ बजेबाट बैठक सुरु हुने भनिएपनि ढिला गरी बैठक सुरु भएको जनाइएको छ । बालुवाटारस्थित आफ्नै निवासमा भएको पार्टी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् । मन्त्रिपरिषद्को बैठकमा व्यस्त भएकाले स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली र मन्त्रीहरु उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्रीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक चलाइरहेका छन्। स्थायी समितिको मंगलबारको बैठकमा ओलीको राजीनामा माग्दै चर्काचर्की भएपछि आन्तरिक कलह मच्चाएको छ।
बुधबार केहि समय बैठक बसेपनि संसद बैठकमा जानुपर्ने भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । बैठक स्थगित भएपश्चात दिनभर ओली र प्रचण्ड-नेपाल पक्षमा आआफ्नो गुट छलफल र रणनीतिमा व्यस्त रहे।पार्टीभित्रैबाट चर्को आलोचनासहित राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री ओली बचाउको रणनीतिसहित बुधबारदेखि व्यक्तिगत र समूहगत छलफललाई तीव्र बनाएका छन्। ओलीले बुधबार दिनभर सरकारका मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएर परामर्श गरेका थिए।ओलीको राजीनामा मागिसकेका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि रणनीतिक छलफलमा व्यस्त छन्। बुधबार बेलुका झम्सीखेलमा प्रचण्डले बोलाएको बैठकमा ४४ सदस्यीय स्थायी समितिका ३० जना सदस्यहरू सहभागी भएका थिए। पार्टीभित्र ओली अल्पमतमा देखिएका छन्। ९ सदस्यीय सचिवालयमा ६ जना र ४४ सदस्यीय स्थायी समितिका ३० जना ओली विपक्षमा देखिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान दुवै पक्षबीच भएको छलफल भएको थियो ।