तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सहयात्रा टिभी

काठमाडौं। असार–१९, आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ ।महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।’शुक्रबार अपराह्नपछि देशको धेरैजसो स्थानमा मनसुनी बादल विकसित भइ हल्कादेखि मध्यम वर्षा हुनेछ, मौसमविद् नगरकोटीले बताए। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।’मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम२१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

रासस

प्रकाशित : 3 July, 2020

प्रतिक्रिया दिनुहोस्