आज मात्र थप ७४०मा कोरोना पुष्टि, कुल संक्रमित संख्या १५ हजार नाघ्यो
काठमाडौं। असार–१९, कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा चारहजार ४८३ वटा नमूना परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । मन्त्रालयका अनुसार आइसोलेसनमा नौहजार ८४ रहेका छन् ।नेपालमा रहेका ७७ वटा जिल्लाहरुमध्ये आठवटा जिल्लामा पाँचसयभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सो मध्ये प्रदेश २ मा महोत्तरी, रौतहट र सर्लाहीसहित तीन जिल्ला, प्रदेश ५ मा कपिलबस्तु, पाल्पा र दाङसहित तीन जिल्ला रहेका छन् ।यस्तै, कर्णाली प्रदेशमा दैलेख र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लामा पनि भाइरसका कारण पाँचसयभन्दा बढी सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसका कारणले काठमाडौंमा थप एकजनाको निधन भएको छ । नयाँ वानेश्वरमा बस्ने एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा प्राडा गौतमले जानकारी दिए ।पार्किङ्सन रोगबाट पीडित पुरुषको छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो ।हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो । आज मृत्यु घोषित पुरुषसहित नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
आज मात्र ८२३ जना निको भएर घर फर्केका छन् यो संगै हाल सम्म निको हुनेको संख्या छ हजार १४३ जना रहेको बताइएको छ ।